नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा उद्धार, खोजी तथा राहत कार्य जारी रहे पनि जिल्लाको अवस्था अझै अत्यन्त संवेदनशील रहेको छ। विपद्पछि हालसम्म प्राप्त विवरणअनुसार नुवाकोटबाट ४ हजार ५६७ जनाको उद्धार गरिएको छ।
प्राप्त विवरणअनुसार उद्धार गरिएका नेपाली नागरिकमध्ये १ हजार ६४८ पुरुष र १ हजार १४४ महिला गरी २ हजार ७९२ जनाको हवाई उद्धार गरिएको छ। त्यस्तै, १ हजार ८०० जनालाई स्थलगत उद्धार गरिएको छ।
यसैगरी बाढी प्रभावित क्षेत्रबाट १२० पुरुष र १२ महिला गरी १३२ जना विदेशी नागरिकको समेत उद्धार गरिएको विवरणमा उल्लेख छ।
९५ शव फेला, ६२ आंशिक मानव अंग
बाढीपछि नुवाकोटमा हालसम्म लिंग पहिचान भएका ३३ शव फेला परेका छन् भने ६२ वटा पहिचान गर्न नसकिने आंशिक मानव अंग फेला परेका छन्। यसरी जिल्लामा हालसम्म कुल ९५ शव तथा मानव अवशेष फेला परेको विवरण छ।
विपद्को प्रकृति र नदीको तीव्र बहावका कारण शव तथा मानव अवशेषको खोजी र पहिचान कार्य अझै चुनौतीपूर्ण बनेको छ।
बेपत्ताको संख्या अझै चिन्ताजनक
उपलब्ध सूचनाका आधारमा नुवाकोटबाट ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेको विवरण छ। नेपालीतर्फ २ हजार ६४ पुरुष र २७९ महिला, विदेशी नागरिकतर्फ ७२ पुरुष र ८८ महिला तथा ५५ जनाको विवरण नखुलेको उल्लेख छ।
प्राप्त विवरणमा कुल बेपत्ताको संख्या १ हजार ५५८ उल्लेख गरिएको छ। तथापि, विवरण संकलनका क्रममा दोहोरो नाम, नयाँ सम्पर्कमा आएका व्यक्ति तथा नयाँ प्राप्त सूचनाका कारण संख्या अद्यावधिक हुन सक्ने भएकाले सम्बन्धित निकायबाट निरन्तर प्रमाणीकरण आवश्यक देखिन्छ।
‘उद्धार पहिलो प्राथमिकता हो, तर अब बेपत्ताको खोजी र राहत पनि तीव्र हुनुपर्छ’
बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति रमेश महतले विपद्को यस कठिन समयमा उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकका लागि राहतलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।
महतका अनुसार बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको अवस्थामा राज्यका सबै संयन्त्रबीच थप समन्वय आवश्यक छ। विशेषगरी सम्पर्कविहीन नागरिकका परिवार अहिले आफ्ना आफन्तको अवस्थाबारे जानकारी पर्खिरहेको भन्दै खोजी कार्यलाई अझ तीव्र बनाउनुपर्ने उहाँको भनाइ छ।
उहाँले उद्धार गरिएका नागरिकको सुरक्षित व्यवस्थापनसँगै प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास तथा अन्य अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
महतले विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक संघ–संस्थाबीच प्रभावकारी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
उद्धारसँगै पुनःस्थापनाको चुनौती
भोटेकोशी बाढीले नुवाकोटमा मानवीय क्षतिसँगै सडक, पुल, विद्युत्, खानेपानी, घर तथा विभिन्न पूर्वाधारमा समेत ठूलो असर पारेको छ। उद्धार कार्यसँगै अब प्रभावित परिवारको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अर्को ठूलो चुनौतीका रूपमा देखिएको छ।
राष्ट्रिय स्तरमा पनि उद्धार तथा खोजी अभियान जारी रहेको र प्रभावित क्षेत्रसम्म राहत पुर्याउने प्रयास भइरहेको छ।
नुवाकोटमा अहिलेसम्म हजारौँ नागरिकको उद्धार भए पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा उस्तै छ। त्यसैले अबको प्राथमिकता केवल उद्धारको संख्या बढाउनु मात्र नभई प्रत्येक सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउनु, घाइतेको उपचार गर्नु, पीडित परिवारलाई राहत पुर्याउनु र प्रभावित नागरिकलाई सुरक्षित रूपमा पुनःस्थापित गर्नु हुनुपर्ने देखिन्छ।
प्रतिक्रिया