काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार गरिएका विदेशीमध्ये भारतका ११४, चीनका २७ र दक्षिण कोरियाका २० जना रहेका छन्। त्यस्तै माल्टा र जर्मनीका ४–४, अमेरिका र इटालीका ३–३ तथा रुस, स्पेन, स्वीट्जरल्याण्ड र टर्कीका २–२ जना नागरिकको उद्धार गरिएको बोर्डले जनाएको छ।
त्यसैगरी बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक–एक जना नागरिकको समेत उद्धार भएको छ। अन्य राष्ट्रियता नखुलेका तीन जना विदेशी नागरिक सम्पर्कमा आएको बोर्डले जानकारी दिएको छ।
तर बाढीबाट प्रभावित क्षेत्रमा रहेका अझै ४२० जना विदेशी पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ। यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्कविहीन रहेको जानकारी दिएको थियो।
गत बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय संयुक्त रूपमा परिचालित छन्।
घाइते, अलपत्र तथा जोखिममा परेका पर्यटक तथा यात्रुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ।
बाढी तथा पहिरोका कारण सडक र सञ्चार सम्पर्क अवरुद्ध भएका स्थानमा पर्यटकको वास्तविक अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको भए पनि सम्बन्धित निकायले उपलब्ध सबै माध्यम प्रयोग गरी खोजी तथा उद्धारलाई निरन्तरता दिएका छन्।
नेपाल पर्यटन बोर्डले विपद्को अवस्थामा पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारेको छ।
बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा उनीहरूका परिवारलाई आवश्यक सूचना तथा आपत्कालीन सहयोग उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।
📞 निःशुल्क आपत्कालीन सहयोग : १२३४
📞 सहायता नम्बर : ११४४
📞 पर्यटक प्रहरी : ९८५१२८९४४५
बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटक, यात्रु तथा उनीहरूका आफन्तलाई धैर्य राख्न तथा आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।
भोटेकोशी र त्रिशूलीको बाढीले ठूलो जनधनसँगै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई समेत प्रभावित बनाएपछि उनीहरूको खोजी, उद्धार र सुरक्षित स्थानान्तरण अहिले सरकार तथा पर्यटन क्षेत्रका निकायका लागि महत्वपूर्ण चुनौती बनेको छ। सम्पर्कविहीन सबै पर्यटकको अवस्था यथाशीघ्र पत्ता लगाई सुरक्षित उद्धार गर्नु अहिलेको मुख्य प्राथमिकता बनेको छ।
प्रतिक्रिया