रसुवा बाढी : नारायणी किनारमा मात्रै ८६ शव फेला, मृतकको संख्या १५७ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०८३, बिहीबार ०५:४४

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि बाढीले बगाएका ८६ जनाको शव नारायणी नदीको किनारमा फेला परेको छ। नेपाल प्रहरीका अनुसार चितवनतर्फ ६४ तथा पूर्वी नवलपरासीतर्फ २२ जनाको शव भेटिएको हो।

प्रहरीका अनुसार बेलुका ११ बजेसम्म देशका विभिन्न स्थानमा गरी १५७ जनाको शव फेला परेको छ। बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको तथा नदीमा बगेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये धादिङमा २७, नुवाकोटमा १३, गोरखामा १२, तनहुँमा नौ र रसुवामा तीन जना रहेका छन्।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन्। बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा समेत शव भेटिन थालेपछि उद्धार तथा खोजी कार्यलाई थप तीव्र पारिएको छ।

नदीको बहाव, प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक तथा सञ्चार सम्पर्क र प्रतिकूल भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरक्षाकर्मीले जोखिम मोलेर नदी किनार तथा प्रभावित क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।

यसैबीच, बेपत्ता नागरिकको पहिचान तथा परिवारसँग समन्वय गरी शव व्यवस्थापनको कामसमेत अघि बढाइएको छ। सम्बन्धित निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई निरन्तरता दिँदै थप मानवीय क्षति रोक्न आवश्यक सतर्कता अपनाइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor