भोटेकोशी बाढी प्रभावितको उद्धारमा नेपाली सेना, खोज तथा उद्धार अभियान तीव्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०८३, बिहीबार ०५:३५

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा बेपत्ताको खोजीका लागि नेपाली सेनाले आज बिहानैदेखि उद्धार तथा खोज अभियानलाई थप तीव्रता दिएको छ।

बाढीबाट प्रभावितको संख्या ठूलो रहेको तथा विभिन्न स्थानमा नागरिक फसेको जानकारी आएपछि नेपाली सेनाले जमिन तथा हवाई माध्यमबाट उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाएको हो।

सेनाका अनुसार टिमुरेभन्दा माथिल्लो क्षेत्रमा ठूलो संख्यामा मानिस प्रभावित भएकाले मौसम तथा परिस्थितिको अनुकूलता हेरी हवाई उद्धारलाई प्रभावकारी रूपमा परिचालन गर्ने तयारी गरिएको छ। त्यस्तै, विभिन्न टनेल तथा जोखिमयुक्त क्षेत्रमा अड्किएका व्यक्तिको खोज तथा उद्धारका लागि जमिनबाट समेत विशेष टोली परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। यसअघि उद्धार तथा राहतका लागि १ हजार ६९७ जना फौज परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।

उद्धार अभियानअन्तर्गत सैनिक तथा गैरसैनिक हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट नागरिकको उद्धार गर्ने, राहत सामग्री पुर्‍याउने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

यसअघि सैनिक हेलिकप्टरमार्फत ९४ जना तथा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको थियो भने जमिनबाट समेत २७ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको सेनाले जनाएको छ।

राहत सामग्रीसहित उद्धार अभियान

उद्धारसँगै बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ। सेनाले ८०० केजी टेन्ट तथा २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ।

उद्धारमा खटिएका हेलिकप्टरमार्फत प्रभावित नागरिक तथा उद्धारकर्मीका लागि आवश्यक खाना र पानीसमेत उपलब्ध गराउने कार्य जारी रहेको छ।

नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, सरोकारवाला संस्था तथा स्थानीय नागरिकसँग समन्वय गर्दै खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउने जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जोखिम अझै कायम रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन्। सम्भावित जोखिमयुक्त स्थानमा फसेका नागरिकको पहिचान गरी प्राथमिकताका आधारमा सुरक्षित स्थानमा उद्धार गर्ने तथा बेपत्ताको खोजीलाई निरन्तरता दिने तयारी गरिएको छ।

बिहानैदेखि सुरु भएको उद्धार अभियानमा हवाई तथा स्थल दुवै माध्यमबाट जनशक्ति परिचालन गरिएसँगै प्रभावित क्षेत्रमा उद्धारको गति थप बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor