प्रधानमन्त्री बालेनलाई बुधबार ११ सांसदले प्रत्यक्ष प्रश्न सोध्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०८३, बुधबार ०६:०२

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विभिन्न दलका ११ जना सांसदले प्रत्यक्ष प्रश्न सोध्ने भएका छन्।

संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले पनि प्रश्न राख्ने भएका छन्।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुनप्रमेशकुमार हमालले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन्।

यसैगरी श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछिन्।

प्रश्न गर्ने सबै सांसदले आफूले उठाउन चाहेको विषय र प्रश्नको विवरण संसद् सचिवालयमा दर्ता गराइसकेका छन्। यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख **डोलप्रसाद अर्याल (डीपी)**ले बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरेका थिए।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न गर्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार बुधबारको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो।

नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले प्रश्नको विषयसम्बन्धी लिखित जानकारी बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई गराउनुपर्ने प्रावधान छ।

यसपटक बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि तोकिएको संख्याभन्दा कम ११ जनाले मात्र प्रश्न दर्ता गराएका छन्। सभामुखले सबै दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने र बाँकी संख्या दलको प्रतिनिधित्वका आधारमा निर्धारण गरेका थिए।

सो व्यवस्थाअनुसार रास्वपाबाट सात जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गराएका छन्।

प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रश्न स्वीकारयोग्य भए नभएको निर्णय गर्ने अधिकार सभामुखलाई रहेको छ। साथै, प्रधानमन्त्रीले दिएको जवाफका सम्बन्धमा सोही क्रममा प्रतिनिधिसभामा कुनै छलफल नहुने व्यवस्था छ।

बुधबारको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले प्रधानमन्त्री बालेनसँग सरकारको कामकारबाही, नीतिगत विषय, विकास निर्माण तथा समसामयिक राजनीतिक र जनसरोकारका विषयमा प्रश्न राख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor