सांसदहरूको अभिव्यक्तिबाट विवाद भए पनि सम्हालेर अघि बढ्छौँ : रवि लामिछाने
rastriyakhabar
४ भाद्र २०८३, बिहीबार ०६:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन्।
रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बिहीबार भएको छलफल औपचारिक संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुति र समसामयिक विषयमा केन्द्रित आन्तरिक छलफल भएको बताए।
उनले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा कसैको अभिव्यक्ति कहिलेकाहीँ विवादमा पर्न सक्ने भन्दै त्यसलाई सामान्य रूपमा लिएर पार्टी अघि बढ्ने बताए।
लामिछानेले भने, ‘धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ। त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन।’
उनका अनुसार संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र समीक्षा गरिएको थियो। संसदमा पार्टीका सांसदहरूको प्रस्तुति र उठाइएका विषयबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले त्यसबारे आन्तरिक छलफल आवश्यक भएको उनले बताए।
बैठकमा सरकार, विभिन्न मन्त्रालय र मन्त्रीहरूका कामकारबाहीप्रति पार्टीभित्र कुनै असन्तुष्टि वा प्रश्न भए–नभएको विषयमा समेत छलफल भएको लामिछानेले जानकारी दिए।
उनले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाका सांसदहरूको पनि भएको भन्दै संसदमा मर्यादित ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए। साथै, संसदमा उठाइने विषयवस्तु आम नागरिकको जीवनसँग जोडिएको हुनुपर्ने र यसबारे साझा बुझाइका साथ अघि बढ्ने विषयमा छलफल भएको उनले बताए।
प्रतिक्रिया