सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
प्रदेशसभामा आज भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावको पक्षमा २१ मत परेको हो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमत २१ मत हो।
मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएका थिए। त्यसमध्ये विश्वासको मतको पक्षमा २१, विपक्षमा १३ र २ मत तटस्थ परेको थियो।
गत साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न भने सकेका थिएनन्।
यद्यपि, आज प्रदेशसभा बैठकअघि सत्ता गठबन्धनमा रहेको नेकपा एमालेसँग मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुटेको बताइएको छ। सहमतिअनुसार नेकपा र एमालेले तीन–तीनवटा मन्त्रालय लिने समझदारी भएको छ।
मन्त्रालयको भागबण्डामा सहमति जुटेसँगै अब मुख्यमन्त्री शाहीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने अपेक्षा गरिएको छ। विश्वासको मत पाएसँगै शाही नेतृत्वको सरकारलाई प्रदेशसभामा औपचारिक रूपमा बहुमतसमेत सुनिश्चित भएको छ।
प्रतिक्रिया