रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पाँच जना पक्राउ
rastriyakhabar
३ भाद्र २०८३, बुधबार ०५:५७
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा अनियमितता तथा ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
रेडक्रसका लागि गोदाम घर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४(क) मा खरिद गरिएको जग्गामा अनियमितता भएको भन्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त छानबिन प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
छानबिनका क्रममा रेडक्रसले भक्तपुर नगरपालिका–४(क) मा विभिन्न कित्ता नम्बरका जग्गा गरी कुल ५–१३–३–० क्षेत्रफल खरिद गरेको र त्यसबापत ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
तर, बोलपत्रमा उल्लेखित सर्तविपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत जग्गा खरिद गरिएको र भुक्तानी भएको रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ मध्यस्थकर्ताले लिएको आरोप छ।
त्यस्तै, नापी कार्यालय भक्तपुरबाट गरिएको जाँचका क्रममा खरिद गरिएको जग्गाको वास्तविक क्षेत्रफल कागजातमा उल्लेख भएभन्दा कम रहेको पाइएको प्रहरीले जनाएको छ। नापी कार्यालयका अनुसार फिल्डमा उक्त जग्गाको क्षेत्रफल ५–६–२–१ मात्र रहेको पाइएको छ।
बोलपत्रको सर्तविपरीत मध्यस्थकर्ता प्रयोग गरी जग्गा खरिद गरेको तथा संस्थालाई आर्थिक हानि–नोक्सानी पुर्याएको आरोपमा संलग्न पदाधिकारी, कर्मचारी तथा मध्यस्थकर्तामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भक्तपुर जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा को–को ?
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ मा बस्ने ५७ वर्षीय उमेश प्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, उदयपुरको कटारी–३ स्थायी ठेगाना भई हाल मध्यपुर थिमी नगरपालिका–१ बस्ने ७० वर्षीय सञ्जिब थापा र काठमाडौं महानगरपालिका–१६, बालाजु बस्ने ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको संलग्नता, जग्गा खरिद प्रक्रिया तथा आर्थिक कारोबारबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया