काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शिक्षा, उद्योग, गाँजा खेतीसम्बन्धी कानुन, विपद् व्यवस्थापन, वैदेशिक रोजगारी, स्वास्थ्य, जातीय विभेद तथा पूर्वाधारलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीले गरिब तथा विपन्न नागरिकका छोराछोरीले सहज रूपमा विद्यालय शिक्षा पाउने सुनिश्चिततासहित शिक्षा ऐन बनाउनुपर्ने बताए। शिक्षकलाई आन्दोलनमा जानुपर्ने अवस्था अन्त्य गर्दै उचित सम्मान दिनुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले वर्षौंसम्म घाटामा उद्योग सञ्चालन गरेर राज्यकोषमाथि भार थप्ने नीति अन्त्य गर्नुपर्ने बताए। सम्भावना भएका उद्योगको व्यावसायिक मूल्याङ्कन गरी निजी क्षेत्रलाई पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले सहभागी गराउनुपर्ने उनले बताए।
एमालेका राजेन्द्रकुमार राईले बहुउपयोगी जडिबुटी गाँजाको सदुपयोग गरी आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताए। नेपालमा गाँजासम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै खेतीलाई विधिसम्मत बनाउनुपर्ने उनको माग थियो।
नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले मनसुनजन्य विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै रोल्पा, बागलुङ र जाजरकोटमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे। देशभर भइरहेका विपद्, पूर्वतयारी, प्रतिकार्य, पुनःनिर्माण र पुनःस्थापनाबारे गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने उनले बताए।
श्रम संस्कृति पार्टीका हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने बताउँदै विकासमा बाधक कानुनी झमेला हटाउन र काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीमा जाने नेपालीले भोग्दै आएका ठगी, सम्झौताअनुसारको काम नपाउने तथा कानुनी झमेलालगायत समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए।
रास्वपाका विभिन्न सांसदहरूले भ्रष्टाचार र कुशासन अन्त्य, प्राकृतिक विपद्, ग्यास तथा मल अभाव, स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, वैदेशिक रोजगारीका समस्या तथा सिँचाइ र पूर्वाधार विकासका विषय उठाए।
सांसदहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारु समुदायका माग सम्बोधन गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउनुपर्ने, सरकारी इमेल प्रयोग र डेटा सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने लगायत विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।
यसैगरी उत्तरी गोरखाको चुमनुब्रीलगायत हिमाली क्षेत्रका बासिन्दाले भोग्दै आएको सीमा पास तथा खाद्यान्न आपूर्तिको समस्या समाधान गर्न पनि सरकारसँग माग गरिएको छ।
बैठकमा एमालेका सांसद साजिदा खातुन सिद्धिकी र रिङ्गला यादवले सत्तारुढ दलका सांसदले विपक्षीलाई ‘गुण्डाराज चलाएको’ भन्दै गरेको टिप्पणीप्रति आपत्ति जनाए।
त्यसक्रममा सत्तापक्ष र विपक्षी दलका सांसदबीच केहीबेर सवाल–जवाफ भएको थियो। बैठकको अध्यक्षता गरेकी उपसभामुख रुवी कुमारीले पक्ष–विपक्षमा नलागी सदनको कामकारबाहीलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग गर्न आग्रह गरिन्।
प्रतिक्रिया