काठमाडौं । खेलप्रेमीहरूका लागि काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा नयाँ र आकर्षक खेल गन्तव्य थपिएको छ। गोकर्णेश्वर नगरपालिका–अत्तरखेल नजिकै बुद्धचोकमा ‘वि प्ले स्पोर्टस् एरिना’ सञ्चालनमा आएपछि एउटै स्थानमा विभिन्न खेलको अभ्यास, मनोरञ्जन र प्रतिस्पर्धाको अवसर सिर्जना भएको छ।
खेलकुदलाई केवल मनोरञ्जनका रूपमा मात्र नभई व्यवस्थित र व्यावसायिक क्षेत्रका रूपमा समेत विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस स्पोर्टस् एरिनामा विभिन्न लोकप्रिय खेलका लागि आवश्यक पूर्वाधार तयार गरिएको सञ्चालकहरूले बताएका छन्।
सञ्चालक समितिका सदस्य आङ छिरिङ शेर्पाका अनुसार बिएमजे रिलोडेड क्लबसँग जोडिएको सम्बन्ध र सहकार्यबाट खेलमैदान सञ्चालन गर्ने अवधारणाले मूर्तरूप पाएको हो। खेलकुदप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै खेलाडी तथा खेलप्रेमीलाई एउटै स्थानमा विभिन्न खेलको सुविधा उपलब्ध गराउने उद्देश्यले एरिना सञ्चालनमा ल्याइएको उनले बताए।
दस जनाको सामूहिक लगानीमा सुरु गरिएको ‘वि प्ले स्पोर्टस् एरिना’ अन्य सामान्य खेलमैदानभन्दा केही फरक बनाउने प्रयास गरिएको सञ्चालकहरूको दाबी छ। खेलकुदसँगै मनोरञ्जन, भेटघाट र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको एरिनामा आधुनिक आवश्यकतालाई ध्यानमा राखेर खेलका लागि स्थान व्यवस्थापन गरिएको छ।
यस खेलमैदानमा फाइभ–ए, सिक्स–ए र सेभेन–ए साइड फुटबल खेल्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी भलिबल, ब्याडमिन्टन, क्रिकेट लगायतका विभिन्न खेलका गतिविधि सञ्चालन गर्न मिल्ने गरी मैदानको डिजाइन गरिएको छ।
एउटै स्थानमा फरक–फरक खेल खेल्न सकिने भएपछि विशेषगरी काठमाडौं उपत्यकामा खेलकुदका लागि उपयुक्त स्थान खोजिरहेका युवा तथा खेलाडीका लागि यो एरिना आकर्षणको केन्द्र बन्न सक्ने देखिएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा खेलमैदानको माग बढ्दै गएको छ। सीमित खुला स्थानका कारण खेलाडी तथा खेलप्रेमीले नियमित रूपमा खेल अभ्यास गर्ने अवसर पाउन कठिन भइरहेको अवस्थामा निजी क्षेत्रको लगानीमा यस्ता व्यवस्थित खेल पूर्वाधार निर्माण हुनु सकारात्मक पक्षका रूपमा हेरिएको छ।
‘खेलकुद पनि व्यवसाय बन्न सक्छ र व्यवसायसँगै स्वस्थ मनोरञ्जनको माध्यम बन्न सक्छ’ भन्ने अवधारणालाई व्यवहारमै देखाउने प्रयास गरिएको सञ्चालकहरूको भनाइ छ। खेलाडी, स्थानीय युवा तथा खेलप्रेमीलाई लक्षित गर्दै एरिनालाई क्रमशः थप व्यवस्थित र आकर्षक बनाउँदै लैजाने योजना समेत रहेको बताइएको छ।
फुटबलदेखि भलिबल, ब्याडमिन्टनदेखि क्रिकेटसम्मका गतिविधि एउटै परिसरमा सञ्चालन गर्न सकिने भएपछि ‘वि प्ले स्पोर्टस् एरिना’ गोकर्ण क्षेत्रमा खेलकुदको नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
खेल्न चाहनेहरूका लागि मैदान, प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि अवसर र फुर्सदको समयलाई खेलकुदसँग जोड्न चाहनेहरूका लागि मनोरञ्जन—यी सबैलाई एउटै स्थानमा समेट्ने प्रयासका रूपमा वि प्ले स्पोर्टस् एरिनाको सुरुवातलाई हेरिएको छ।
प्रतिक्रिया