बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मत परेको छ। प्रस्तावको विपक्षमा २६ मत परेको थियो।
हाल कायम रहेको ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक थियो। मतदान प्रक्रियामा प्रदेश सभाका ८३ सदस्यमध्ये ७१ जना सांसद सहभागी भएका थिए।
मुख्यमन्त्री आचार्यलाई **नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)**का सांसदहरूले विश्वासको मत दिएका छन्।
जसपा नेपालले केन्द्रबाट मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै सांसदहरूलाई सोहीअनुसार निर्देशन दिएको भए पनि प्रदेश सभाका जसपा नेपालका सांसदहरूले उक्त निर्णय अस्वीकार गर्दै सरकारको पक्षमा मतदान गरेका छन्।
विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई प्रदेश सभामा थप राजनीतिक आधार प्राप्त भएको छ।
प्रतिक्रिया