काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ लाई ‘गणित शिक्षण सुधार वर्ष’ का रूपमा घोषणा गरेको छ। नगरपालिकाले गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउँदै शैक्षिक उपलब्धि वृद्धि गर्ने उद्देश्यले यस्तो घोषणा गरेको हो।
बुधबार अर्थात् २०८३ साल साउन २७ गते आयोजित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका गरी जम्मा ४८ जना गणित शिक्षकको सहभागितामा ‘गणित शिक्षणमा सुधार, विकास र उन्नयन’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्दै गणित शिक्षण सुधार वर्ष घोषणा गरिएको हो।
कार्यक्रममा सहभागी गणित शिक्षकहरूले शैक्षिक सत्र २०८३ मा गणित विषयको शैक्षिक उपलब्धि कम्तीमा ८० प्रतिशत कायम गर्ने लिखित प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधि, शिक्षा शाखाका अधिकारी, विद्यालयका प्रतिनिधि तथा गणित शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गणित विषयप्रतिको विद्यार्थीको रुचि बढाउने, परम्परागत शिक्षण विधिमा सुधार ल्याउने, प्रयोगात्मक तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धति अपनाउने र कमजोर विद्यार्थीलाई विशेष सहयोग गर्ने विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रतिनिधिले गणित विषयलाई विद्यार्थीका लागि कठिन र जटिल विषयका रूपमा मात्र नभई दैनिक जीवनसँग जोडेर सहज, सरल र व्यवहारिक ढंगबाट सिकाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
नगरपालिकाले गणित शिक्षण सुधार वर्षअन्तर्गत शिक्षकको क्षमता विकास, प्रभावकारी शिक्षण विधिको प्रयोग, विद्यार्थीको सिकाइ उपलब्धिको नियमित मूल्यांकन तथा विद्यालय तहमा गणित शिक्षणको गुणस्तर सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
गणित शिक्षकहरूले समेत विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न नियमित अभ्यास, नवीनतम शिक्षण विधिको प्रयोग, कमजोर विद्यार्थीको पहिचान तथा अतिरिक्त सहयोग र विद्यालय–शिक्षक–अभिभावकबीच प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाले अघि सारेको यस अभियानले बुढानीलकण्ठका सामुदायिक तथा संस्थागत विद्यालयमा गणित शिक्षणको गुणस्तर सुधार गर्दै विद्यार्थीको गणित विषयप्रतिको डर हटाएर सिकाइप्रति रुचि र आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया