काठमाडौं । उच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा अध्यक्ष पदमा सेवन्तराज निरौला विजयी भएका छन्। निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
बृहत् प्रगतिशील तथा पेशागत समूहबाट उम्मेदवारी दिएका निरौलाका प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनका देवीप्रसाद रिजालले १२२ मत तथा स्वतन्त्र कानुन व्यवसायी मञ्चका भेषराज पोखरेलले १९९ मत प्राप्त गरेका छन्।
निर्वाचनबाट उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजीवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी र कोषाध्यक्षमा दीलकुमार कार्की निर्वाचित भएका छन्।
त्यस्तै महिला सदस्यमा अनिता पौडेल तथा सदस्यहरूमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी भएका छन्।
नौ पदाधिकारीसहित १९ सदस्यीय कार्यसमितिका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजे सम्पन्न भएको थियो।
प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार निर्वाचनका क्रममा केही सामान्य विवाद भए पनि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। निर्वाचनपछि नयाँ कार्यसमितिले उच्च अदालत बार एसोसिएसनको आगामी कार्यकाल सम्हाल्नेछ।
प्रतिक्रिया