काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले सेवा प्रवाह, विकास निर्माण तथा स्थानीय सरोकारका विषयमा नागरिकका गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्दै सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ।
नगरपालिकाको हात्तीगौँडास्थित प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा तथा महाशाखाका प्रमुख, कर्मचारी, वडा अध्यक्ष, सरोकारवाला तथा नगरवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरवासीले नगरपालिकाबाट प्रवाह हुँदै आएको सेवा, विकास निर्माणका आयोजना, पूर्वाधार विकास, स्थानीय आवश्यकता तथा दैनिक रूपमा भोग्दै आएका समस्याका विषयमा जिज्ञासा, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए।
नागरिकले उठाएका प्रश्न, गुनासा तथा सुझावमाथि सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीले आवश्यक जानकारी प्रदान गर्दै समस्या समाधानका लागि नगरपालिकाको तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
सार्वजनिक सुनुवाइका क्रममा नागरिकले विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन, सेवा प्रवाहलाई सहज र छिटो बनाउन तथा स्थानीय आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।
नगरपालिकाले सार्वजनिक सुनुवाइलाई नागरिक र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ। नागरिकबाट प्राप्त सुझाव तथा गुनासालाई आगामी योजना, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाका अनुसार स्थानीय सरकार नागरिकप्रति जवाफदेही र पारदर्शी हुनुपर्ने मान्यतालाई व्यवहारमा स्थापित गर्न सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
सार्वजनिक सुनुवाइले नगरवासीका अपेक्षा, आवश्यकता र समस्यालाई प्रत्यक्ष रूपमा बुझ्न जनप्रतिनिधि तथा कर्मचारीलाई सहयोग पुग्नुका साथै नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणलाई थप नागरिकमुखी बनाउन महत्वपूर्ण आधार तयार गरेको छ।
नगरपालिकाले नागरिकका गुनासा तथा सुझावलाई केवल सुनुवाइमा सीमित नराखी आवश्यकताअनुसार सम्बन्धित निकायमार्फत सम्बोधन गर्दै आगामी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया