करोडौँ खर्चिएको कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:११

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको ताल अहिले झाँडी तथा बुट्यानले ढाकिँदै गएपछि कुरूप बन्दै गएको हो।

तालको सौन्दर्य र सुरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेका रेलिङसमेत ठाउँ–ठाउँमा भत्किएका छन्। स्थानीय चक्र बुढाका अनुसार रेलिङ भत्किएको र ताल क्षेत्रमा सरसफाइ तथा नियमित रेखदेखको अभाव भए पनि सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा समेत सुनुवाइ हुन सकेको छैन।

‘सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन्। सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन,’ बुढाले भने।

कान्तिताल विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत भएकाले संरक्षणकर्मी तथा वातावरण संरक्षणमा चासो राख्नेहरूले ताल संरक्षणको माग गर्दै आएका छन्। तर सम्बन्धित निकायले पर्याप्त चासो नदिँदा तालको अवस्था थप बिग्रिँदै गएको स्थानीयको गुनासो छ।

नेपालगञ्ज उपमहानगरपालिकाले कान्तिताललाई व्यवस्थित गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न करिब १० करोड रुपैयाँ खर्च गरेको थियो। तर नियमित संरक्षण, सरसफाइ तथा रेखदेखको अभावमा करोडौँको लगानी गरिएको आयोजना अहिले अनुत्पादक र जीर्ण अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

ताल क्षेत्र लागूऔषध दुर्व्यसनीको जमघटस्थल बन्दै गएको र रातको समयमा शंकास्पद गतिविधि हुने गरेको स्थानीयले बताएका छन्। यसले तालको सुरक्षा र पर्यटकीय वातावरणमा समेत असर परेको उनीहरूको गुनासो छ।

नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरी पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो। ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ उपमहानगरपालिकालाई राजस्व बुझाउने गरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले भने लागूऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुनसक्ने बताए। घटनाको वास्तविकता खोजी गरिने उनको भनाइ छ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरपालिकाले नयाँ योजना बनाइरहेको बताएका छन्।

विगतमा ताल संरक्षणका लागि बनाइएका योजना प्रभावकारी हुन नसकेको स्वीकार गर्दै रिजालले सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना निर्माण गरेर संरक्षणका लागि लागू गरिने बताए।

स्थानीयवासीले भने कान्तिताललाई पुनः पर्यटकीय आकर्षणका रूपमा विकास गर्न तत्काल सरसफाइ, सुरक्षा, संरचना मर्मत तथा नियमित संरक्षणको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor