काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश गएको करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै देउवा कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको चुनदेवीमा सञ्चालन गरेको सम्पर्क कार्यालय पुगेका छन्।
त्यहाँ भेला भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले जेनजी आन्दोलनपछि आफू र परिवारमाथि भएको अनुसन्धान तथा पक्राउ पुर्जीको प्रसंग उठाउँदै असन्तुष्टि व्यक्त गरे।
देउवाले आफू र पत्नी आरजु राणा देउवामाथि नेपालमा मुद्दा चलाउने प्रयास भएको तथा पक्राउ गर्न खोजिएको दाबी गरे। सर्वोच्च अदालतले आफूहरूलाई पक्राउ नगर्न आदेश दिए पनि त्यसपछि पनि आफूहरूमाथि ‘बदमासी’ गरिएको उनको आरोप थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफू र परिवारमाथि पटक–पटक अनुसन्धान गरेको भन्दै देउवाले त्यसप्रति पनि असन्तुष्टि जनाए। एकपटक अनुसन्धान गर्दा केही नभेटिएको भनिए पनि पुनः अनुसन्धान गरिएको उनको भनाइ थियो।
यद्यपि, आफूले पछिल्ला घटनालाई बदलाको भावनाले नहेर्ने देउवाले स्पष्ट पारे।
सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंगसमेत उठाउँदै आफूलाई कमजोर बनाउन खोज्ने प्रयासप्रति प्रश्न गरे। ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ?’ भन्दै उनले जनतालाई नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताए।
नेपालमा गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाले मात्र स्थापना नभएको उल्लेख गर्दै देउवाले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको स्मरण गरे। ‘नेपाली जनता सबैभन्दा ठूलो हो। जनता मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ,’ उनले भने।
यसैबीच, चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाका लागि कांग्रेस सभापतिको हैसियतमा छुट्टै कोठासमेत व्यवस्था गरिएको नेताहरूले बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन गत पुसमा आयोजना हुँदा देउवा पक्ष सहभागी भएको थिएन। लामो उपचारपछि स्वदेश फर्किएलगत्तै संस्थापनइतर समूहको सम्पर्क कार्यालय पुगेर नेता–कार्यकर्तालाई सम्बोधन गरेसँगै देउवा कांग्रेसको आन्तरिक राजनीतिमा पुनः सक्रिय हुने संकेत देखिएको छ।
प्रतिक्रिया