कांग्रेस इतर समूहको तीन दिने राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०७:०९

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला आज (शुक्रबार)देखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ।

दिउँसो १ बजे हुने उद्घाटन सत्रमा पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

लामो समय स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवा बिहीबार (साउन २८ गते) मात्रै स्वदेश फर्किएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इतर समूहका नेता तथा कार्यकर्ताले बाजागाजासहित उनको भव्य स्वागत गरेका थिए। स्वदेश फर्किएलगत्तै देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न लागेका हुन्।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएपछि साउन ३० र ३१ गते बन्दसत्र सञ्चालन हुनेछ।

तीन दिनसम्म चल्ने भेलामा पार्टीको आगामी नीति तथा कार्यक्रम तय गर्न करिब आधा दर्जन विषयगत प्रतिवेदनमाथि गहन छलफल हुने आयोजकले जनाएको छ।

देशभरबाट करिब ५ हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने अनुमान गरिएको भेलाले कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक रणनीति तथा संस्थापन पक्षसँगको शक्ति सन्तुलनबारे महत्वपूर्ण निर्णय र रणनीति तय गर्ने इतर समूहको दाबी छ।

भेलालाई आगामी दिनमा कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरण र राजनीतिक रणनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor