होटल तथा रेष्टुरेन्टलाई निगमको चेतावनी : आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०७:११

काठमाडौं। नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।

निगमका अनुसार २०८३ असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको पूर्ण भरिएको ग्यास सिलिन्डर बिक्रीवितरण भइरहेको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहे पनि सर्वसाधारणले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको हो।

निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ।

निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न र हाल मौज्दातमा रहेका अतिरिक्त सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्न आग्रह गरेको छ।

निगमले आफ्नो आग्रहविपरीत कुनै पनि व्यावसायिक प्रतिष्ठानले अनावश्यक रूपमा ग्यास सिलिन्डर लुकाएर वा मौज्दात राखेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

निगमको यो कदमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन तथा सर्वसाधारण उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor