युवा नेतृत्व सरकारमा पुग्नु मात्रै सफलता होइन : रवि लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८३, बिहीबार ०५:५४

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा पुग्नु मात्रै सफलता नभएको भन्दै त्यसलाई परिणाममा बदल्न नसके नागरिकको विश्वास गुम्ने चेतावनी दिएका छन्।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री लामिछानेले सरकारको नेतृत्व सम्हालेको चार महिना बितिसक्दा पनि माइतीघरमा नागरिकका आवाज र भीडभाड उस्तै देखिनु चिन्ताको विषय भएको बताए।

“हामी चार महिनादेखि सरकारमा छौँ, तर नागरिकका आवाज उस्तै सुनिन्छन्,” उनले भने, “नागरिकमा आशा मरेर हो कि बानी परेर भीड घटेको छैन भन्ने छुट्याउन गाह्रो परेको छ। यदि निराशा बानी नै परेको हो भने त्यो अझ भयानक परिस्थिति हो।”

सरकार गठन भएको छोटो समयमै नतिजा खोज्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै लामिछानेले रातारात परिणाम खोज्ने बानीले पटक–पटक विकल्प मात्रै खोज्ने अवस्था सिर्जना हुने बताए।

उनले युवा मन्त्री तथा सांसदहरूलाई पदको उत्सव मनाउनुभन्दा जिम्मेवारीको गम्भीरता बुझेर काम गर्न आग्रह गरे। “यो पदमा रमाउने बेला होइन, सोचेर काम गर्ने बेला हो। यसपटक हामी चुक्यौँ भने आगामी पुस्ताका युवाले यस्तो राजनीतिक अवसर पाउने छैनन्,” लामिछानेले भने।

आफ्नो सम्बोधनका क्रममा लामिछानेले विगतमा युवा नेतृत्वको वकालत गर्दा पाका तथा अनुभवी नेताहरूप्रति गरिएको व्यवहारबारे समेत आत्मसमीक्षा गरे। “हिजो युवा नेतृत्व भएन भनेर हामीले उमेरले पाका नेताहरूलाई अपमानित वा अपहेलित गर्यौँ कि भन्ने महसुस अहिले भइरहेछ,” उनले भने।

विगतमा विरोधी वा पाका पुस्तालाई दोष दिएर उम्किन सहज भए पनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ थियो।

प्रतिनिधिसभामा युवा सांसदहरूको बाहुल्य हुनु र देशले विश्वकै कान्छा प्रधानमन्त्री पाउनु ऐतिहासिक उपलब्धि भए पनि त्यसलाई कामबाट पुष्टि गर्नुपर्ने चुनौती रहेको उनले बताए। चुनावी नतिजा र संसदको संख्याले मात्र नागरिकको सपना पूरा नहुने भन्दै लामिछानेले युवा नेतृत्वलाई परिणाममुखी भएर काम गर्न आह्वान गरे।

प्रतिक्रिया

Leave a Reply

slot gacor