काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतमा आज प्रतिवादी कार्कीको बयान कार्य सम्पन्न भएपछि भएको थुनछेक बहसपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटी माग गर्दै तारेखमा रिहा गर्ने आदेश दिएको हो।
अदालतको आदेशसँगै कार्कीले तोकिएको धरौटी रकम बुझाएर मुद्दाको पुर्पक्षका क्रममा तारेखमा बस्न पाउनेछन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौता विपरीत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।
सोही मुद्दामा आज बयान तथा थुनछेक बहस सम्पन्न भएपछि विशेष अदालतले कार्कीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
प्रतिक्रिया