काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री पदबहालीपछि यसअघि कूटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त रूपमा भेटघाट गर्दै आएका प्रधानमन्त्री शाहले यसपटक भने विदेशी कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता सुरु गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री शाहबीच करिब ४५ मिनेट शिष्टाचार भेटवार्ता भएको थियो।
उच्च अधिकारीहरूको समेत सहभागिता रहेको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विविध आयामबारे छलफल भएको थियो।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले भारतसँगको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई थप अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
यसैबीच, सोमबार दिउँसो प्रधानमन्त्री शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले पनि सिंहदरबारमै शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई अझ अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भएको यी भेटवार्तालाई नेपालका दुई छिमेकी मुलुकसँगको द्विपक्षीय सम्बन्ध, कूटनीतिक सहकार्य र विकास साझेदारीलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया