काठमाडौं । नेकपा (एमाले) ले कोशी प्रदेश सरकारको नेतृत्व तत्काल परिवर्तन नगर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भएको छलफलपछि हाललाई कार्कीकै नेतृत्वमा प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको हो।
बुधबार ओली निवासमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजनीतिक तथा संवैधानिक कारण देखाउँदै तत्काल राजीनामा नदिने अडान राखेका थिए। त्यसपछि नेतृत्व परिवर्तनको विषय उपयुक्त समयमा गर्ने समझदारी भएको बताइएको छ।
छलफलमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा तथा प्रदेश सचिव राजकुमार भण्डारी सहभागी थिए। छलफलपछि अध्यक्ष खतिवडाले तत्कालका लागि कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार भविष्यमा पार्टीले आवश्यक ठानेको समयमा नेतृत्व परिवर्तन गर्ने विषयमा सहमति भएको छ। पार्टी अध्यक्ष ओलीले आवश्यक परेको बेला मुख्यमन्त्रीसहित मन्त्रीहरूले पार्टीको निर्देशनअनुसार पद छाड्नुपर्ने धारणा राखेको र त्यसलाई सम्बन्धित पक्षले स्वीकार गरेको बताइएको छ।
यससँगै कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा तत्कालका लागि स्थगित भएको छ भने प्रदेश सरकार हालकै नेतृत्वमा अघि बढ्ने भएको छ।
प्रतिक्रिया