धवलशमशेर र दुर्गा प्रसाईंको ‘जय नेपाल पार्टी’ दर्ता हुँदै, धवल सभापति र प्रसाईं सर्वोच्च नेता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०५:४६

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन्। प्राप्त जानकारीअनुसार, साउन २८ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरिएको छ।

पार्टीको प्रस्तावित संरचनाअनुसार डा. धवलशमशेर राणा सभापति रहनेछन् भने दुर्गा प्रसाईंका लागि ‘सर्वोच्च नेता’को पद सिर्जना गरिएको छ। सुरुमा ‘सर्वोच्च कमान्डर’ बनाउने चर्चा भए पनि अन्ततः ‘सर्वोच्च नेता’को पदमा सहमति भएको बताइएको छ।

स्रोतका अनुसार पार्टीको दैनिक सञ्चालन र नेतृत्व राणाले सम्हाल्नेछन् भने आगामी निर्वाचनपछि प्रसाईंलाई संसदीय दलको नेता बनाउने विषयमा प्रारम्भिक समझदारी भएको बताइएको छ।

पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको चाबहिलमा रहनेछ भने विधान तयारीको काम सम्पन्न भइसकेको छ। पाँचथरका युवा नेता सगुन लावती, मुकुन्दश्याम गिरी र दीलनाथ गिरीलगायतका नेताहरू पनि अभियानमा आबद्ध भएका छन्।

डा. राणाले गत जेठ २१ गते उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दीलनाथ गिरीसहित १८३ जना नेता–कार्यकर्तासँगै राप्रपाबाट सामूहिक राजीनामा दिएका थिए। यता, पूर्वएमाले नेता दुर्गा प्रसाईंले पार्टी छाडेपछि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’ सञ्चालन गर्दै राजावादी अभियानलाई अगाडि बढाउँदै आएका छन्।

नयाँ पार्टीले सनातन धर्म, हिन्दु अधिराज्य, प्रजातान्त्रिक प्रणाली, राजसंस्था, आर्थिक सुधार तथा लघुवित्त, सहकारीपीडित र सुकुम्बासीका मुद्दालाई प्राथमिकतामा राख्ने प्रारम्भिक एजेन्डा तय गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor