गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टीबी परीक्षण मेसिन स्थापना
rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०६:२१
काठमाडौं । गोकर्णेश्वर नगर अस्पतालमा क्षयरोग (टीबी) परीक्षणका लागि अत्याधुनिक मेसिन स्थापना गरिएको छ। नयाँ प्रविधिको उक्त मेसिनबाट एकैपटक १६ जनासम्मको खकार परीक्षण गर्न सकिनेछ, जसले क्षयरोग पहिचान सेवा थप छिटो, प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।
यसअघि अस्पतालमा माइक्रोस्कोप प्रविधिबाट एकपटकमा एक जनाको मात्र खकार परीक्षण गर्ने व्यवस्था थियो। नयाँ मेसिन सञ्चालनमा आएपछि टीबीको समयमै पहिचान, स्क्रिनिङ तथा उपचार प्रक्रियामा थप सुधार आउने विश्वास गरिएको छ।
मेसिन सञ्चालनका लागि जापानी प्राविधिक टोलीले अस्पतालका स्वास्थ्यकर्मीलाई चार दिने विशेष तालिम प्रदान गर्नेछ। तालिम सम्पन्न भएपछि अस्पतालबाट नियमित रूपमा नयाँ प्रविधिमार्फत क्षयरोग परीक्षण सेवा सञ्चालन गरिनेछ।
गोकर्णेश्वर नगर अस्पतालमा स्थापना गरिएको उक्त मेसिन जापान सरकार, राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र गोकर्णेश्वर नगरपालिकाको संयुक्त समन्वयमा ल्याइएको हो।
नगर प्रमुख दीपक रिसालको विशेष पहलमा स्थापना गरिएको यो प्रविधिले नगरवासीलाई क्षयरोग परीक्षणका लागि थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया