काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि बल प्रयोगभन्दा संवाद, सामाजिक सद्भाव र विकासलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्ला घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घटनास्थलमै मृत्यु भएका ओमप्रकाश मेहता तथा उपचारका क्रममा ज्यान गुमाएका जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिराहाका गणेश यादवको निधनप्रति दुःख व्यक्त गरे।
देशको वर्तमान आवश्यकता सामाजिक सद्भाव कायम गर्नुका साथै गरिबी, पछौटेपन र असमानताविरुद्ध लड्नु रहेको उल्लेख गर्दै उनले समुदायबीच द्वन्द्व सिर्जना गर्ने समय नभएको बताए। सर्वदलीय बैठक र प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक कदमको रूपमा लिँदै उनले यस्ता पहल अझ पहिले नै हुनुपर्ने धारणा राखे।
सांसद सिंहले मधेशमा हुने आन्दोलन र प्रदर्शनका क्रममा राज्यले अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए। प्रदर्शन नियन्त्रणका लागि लाठीचार्ज, अश्रुग्यासलगायतका वैकल्पिक उपाय प्रयोग गर्नुको सट्टा सिधै गोली चलाउने परिपाटी अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
नेपालमा सुरक्षा निकायलाई दिइने भीड नियन्त्रणसम्बन्धी तालिम र अभ्यासमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले मधेशमा सुरक्षा निकायप्रति जनविश्वासको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।
राज्यले मधेशमा सुरक्षाकर्मी परिचालन गर्न देखाउने सक्रियता शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने सरकारले शिक्षक, चिकित्सक र इन्जिनियरको व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको उनको आरोप थियो।
मधेशलाई सधैँ पछाडि पार्ने र समस्या उत्पन्न भएपछि बल प्रयोगमार्फत दबाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सांसद सिंहले अब मधेशले थप विभेद सहन नसक्ने चेतावनी दिए।
प्रतिक्रिया