काठमाडौं । नेपाल सरकारले विभिन्न २१ मुलुक तथा कूटनीतिक नियोगमा रिक्त तथा कार्यकाल सकिन लागेका पदहरूमा राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। आगामी दुई हप्ताभित्र नियुक्ति प्रक्रिया अघि बढाइने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरी म्याद थपेर कार्यरत इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र संयुक्त राष्ट्रसंघीय नियोग भियनासहित २१ नियोगमा नयाँ राजदूत नियुक्त गरिनेछ।
हाल नेपालका विदेशस्थित २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्क, जेनेभा र भियनामा रहेका तीन स्थायी मिसन तथा आठ वटा महावाणिज्य दूतावास गरी कुल ३९ वटा कूटनीतिक मिसन सञ्चालनमा छन्।
तीमध्ये अहिले १५ मुलुक तथा नियोगमा मात्र राजदूत कार्यरत छन्। अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका र स्पेनस्थित नेपाली दूतावासमा राजदूत पद रिक्त रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
यसै आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित तीन नेपाली दूतावास बन्द गर्ने निर्णय सरकारले गरिसकेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट राजदूत नियुक्ति गर्न लागिएको हो। हाल प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरिने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया