सिरहा: सिरहाको गोलबजारमा हालै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको हो।
टोलीले घटनासँग सम्बन्धित तथ्य, प्रमाण र उपलब्ध सूचनाहरू संकलन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, पीडित पक्ष तथा अन्य सरोकारवालासँग छलफल गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण, त्यसबेलाको परिस्थिती तथा जिम्मेवारीको विषयमा निष्पक्ष र वस्तुनिष्ठ अध्ययन गरी प्रतिवेदन तयार पारिने बताइएको छ।
गृह मन्त्रालयले छानबिन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
गोलबजार घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सरकारले निष्पक्ष अनुसन्धानमार्फत वास्तविकता सार्वजनिक गर्ने उद्देश्यले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको हो।
प्रतिक्रिया