विराटनगर । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका आपराधिक पृष्ठभूमिका अभिषेक गिरी पुनः पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि गिरीले बिहीबार धरौटी रकम बुझाएका थिए। अदालतबाट छुटेलगत्तै मोरङ प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
निर्माण व्यवसायी सुभाष श्रेष्ठले आपराधिक लाभ लिई रकम असुल गरेको आरोपमा किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले गिरीलाई पक्राउ गरेको जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध अब मोरङमै आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइनेछ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरीमाथि २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्षसहित अनुसन्धान गरी राय पेश गरेको थियो।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत साउन १४ गते गिरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
प्रतिक्रिया