भाजपाको २५ वर्षे गढ भत्काउँदै बाँकीपुरमा प्रशान्त किशोरको ऐतिहासिक जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८३, मंगलवार ०५:३७

पटना (बिहार): जनसुराज पार्टीका संस्थापक तथा चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर (पीके) ले बिहारको पटनास्थित बाँकीपुर विधानसभा उपनिर्वाचनमा ऐतिहासिक जित दर्ता गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) को करिब साढे दुई दशक लामो वर्चस्व अन्त्य गर्दै किशोर पहिलो पटक निर्वाचित जनप्रतिनिधि बनेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार किशोरले ६४,१५१ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमार सिन्हाले ४४,८२७ मत प्राप्त गरे। किशोरले १९,३२४ मतान्तरले जित हात पारे। राष्ट्रिय जनता दल (आरजेडी) की रेखा कुमारी १४,२७३ मतसहित तेस्रो स्थानमा रहिन्।

भाजपाको बलियो किल्लामा जनसुराजको प्रवेश

बाँकीपुर (साविक पटना पश्चिम) सन् १९९५ देखि लगातार भाजपाको प्रभाव क्षेत्रमा रहँदै आएको थियो। यस क्षेत्रबाट भाजपा नेता नितिन नवीन पटक–पटक निर्वाचित भएका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो।

गत २०२५ को बिहार विधानसभा निर्वाचनमा जनसुराजले उल्लेखनीय सफलता हासिल गर्न नसके पनि यस उपनिर्वाचनमा भाजपाको परम्परागत गढ भत्काउँदै प्रशान्त किशोरले प्रत्यक्ष राजनीतिमा बलियो उपस्थिति जनाएका छन्।

चुनावी रणनीतिकारबाट जनप्रतिनिधिसम्म

२० मार्च १९७७ मा बिहारको रोहतास जिल्लामा जन्मिएका प्रशान्त किशोरले राजनीतिमा आउनुअघि संयुक्त राष्ट्रसंघसँग आबद्ध जनस्वास्थ्य कार्यक्रमहरूमा काम गरेका थिए। त्यसपछि उनले ‘इन्डियन पोलिटिकल एक्सन कमिटी (आई–प्याक)’ स्थापना गर्दै भारतका विभिन्न दलका शीर्ष नेताहरूका लागि चुनावी रणनीति निर्माण गरेका थिए। २ अक्टोबर २०२४ मा ‘जनसुराज’ पार्टी स्थापना गरेपछि उनी सक्रिय राजनीतिमा होमिएका थिए, र बाँकीपुरको जितसँगै पहिलो पटक निर्वाचित जनप्रतिनिधि बन्न सफल भएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor