काठमाडौं । नेपाल टेलिकमका पूर्वअधिकृत गंगादत्त भट्ट र उनका सहयोगी विवेक शर्मा एक करोड रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका छन्।
अख्तियार स्रोतका अनुसार टेलिकमको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा चिनियाँ ठेकेदार कम्पनीबाट उनीहरूको बैंक खातामार्फत एक करोड रुपैयाँ रकम प्राप्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गरिएको छ। उक्त रकम घुसस्वरूप लिइएको हो वा होइन भन्ने विषयमा आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ।
आयोगका अनुसार भट्ट नेपाल टेलिकममा कार्यरत रहँदा ठेक्का प्रक्रियामा सहयोग गरिदिने भन्दै रकम लिएको आरोप छ। पछि पनि विभिन्न किसिमको दबाब र हैरानी दिएको भन्दै सम्बन्धित चिनियाँ ठेकेदारले प्रमाणसहित अख्तियारमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।
भट्ट र शर्मा गत असार २४ गतेदेखि अख्तियारको हिरासतमा छन्। आयोगले चिनियाँ कम्पनीले पाएको ठेक्का प्रक्रिया, रकमको लेनदेन तथा त्यससँग सम्बन्धित अन्य पक्षबारे पनि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया