१ किलो आँपको मूल्य साढे ३ लाख रुपैयाँ ! उत्तर प्रदेशका किसानले बेचे विश्वकै महँगो ‘मियाजाकी’ आँप ४ वटा मियाजाकी आँप २ लाख ११ हजार भारतीय रुपैयाँमा बिक्री, आमाको सम्मानमा व्यापारीले गरे खरिद; किसानले आम्दानीको १० प्रतिशत गरिबको सहयोगमा खर्च गर्ने घोषणा।
rastriyakhabar
१७ श्रावण २०८३, आईतवार ०५:४३
काठमाडौं । उत्तर प्रदेशको सहारनपुर निवासी किसान सन्दीप चौधरीले उत्पादन गरेको विश्वकै महँगो मानिने ‘मियाजाकी’ प्रजातिको आँप भारतमा कीर्तिमानी मूल्यमा बिक्री भएको छ। गुजरातको सुरतका व्यापारी प्रवीण गुप्ताले चौधरीको फार्मबाट कुल १ किलो तौल भएका ४ वटा मियाजाकी आँप २ लाख ११ हजार भारतीय रुपैयाँ (करिब ३ लाख ३७ हजार नेपाली रुपैयाँ) मा खरिद गरेका हुन्।
भारतमा मियाजाकी प्रजातिको आँप यति उच्च मूल्यमा बिक्री भएको यो सम्भवतः पहिलो घटना मानिएको छ। व्यापारी गुप्ताले आफ्नी आमाप्रतिको सम्मान र समर्पणस्वरूप यी आँप खरिद गरेकाले यो कारोबार थप चर्चाको विषय बनेको छ।
किसान चौधरीका अनुसार सुरुमा ४ वटा आँपको मूल्य ३ लाख ५० हजार भारतीय रुपैयाँ तय गरिएको थियो। तर, खरिदकर्ताले आमाको सम्मानमा आँप खरिद गर्न लागेको थाहा पाएपछि उनले १ लाख ३९ हजार रुपैयाँ छुट दिँदै अन्तिम मूल्य २ लाख ११ हजार रुपैयाँमा बिक्री गर्न सहमत भएका हुन्।
सम्झौताअनुसार कुल रकममध्ये १ लाख ११ हजार भारतीय रुपैयाँ अनलाइनमार्फत प्राप्त भइसकेको छ भने बाँकी १ लाख रुपैयाँ आँप हस्तान्तरणका क्रममा बुझाइनेछ।
सहारनपुरको थरोली गाउँका चौधरीले परम्परागत खेतीबाट माथि उठेर उच्च मूल्यका बाली उत्पादन गर्ने उद्देश्यसहित तीन वर्षअघि मियाजाकी आँपको खेती सुरु गरेका थिए। सुरुमा धेरैले उनको निर्णयको आलोचना गरे पनि निरन्तरको मेहनतपछि उनले उल्लेखनीय सफलता हासिल गरेका छन्।
‘मैले मियाजाकी आँप रोप्दा धेरैले एउटा आँप कसरी लाखौँमा बिक्री हुन्छ भनेर मजाक उडाएका थिए। तर आज तीन वर्षको मेहनतको परिणाम सबैले देखेका छन्,’ चौधरीले बताएका छन्।
हाल उनको बगैंचामा करिब ४० वटा मियाजाकी आँपका बोट रहेका छन्। यस बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत रकम गरिब तथा विपन्न परिवारको सहयोगमा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।
जापानको मियाजाकी क्षेत्रमा विकसित यो विशेष प्रजातिको आँप आकर्षक बैजनी–रातो रङ, मिठास, सुगन्ध र उच्च पोषणका कारण विश्वकै महँगो आँपमध्ये एक मानिन्छ। यसमा भिटामिन ‘ए’, भिटामिन ‘सी’, बेटा–क्यारोटिन र एन्टीअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले यसको बजार मूल्य निकै उच्च रहने गरेको छ।
किसान चौधरीले परम्परागत खेतीसँगै उच्च मूल्य दिने आधुनिक तथा प्राङ्गारिक बालीतर्फ आकर्षित हुन अन्य किसानलाई पनि आग्रह गरेका छन्।
प्रतिक्रिया