सुनसरी घटनाको न्यायिक छानबिन गर्न मधेसी दलका नेताहरूको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८३, शुक्रबार ०६:००

काठमाडौं । विभिन्न मधेसी दलका नेताहरूले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका हुन्।

संयुक्त वक्तव्यमा नेताहरूले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले साम्प्रदायिक तनावको संवेदनशील अवस्थामा राज्यका निकायहरूले संयम, निष्पक्षता र जिम्मेवारीका साथ काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरीले दमन र हस्तक्षेप गरेको आरोपसमेत लगाएका छन्।

वक्तव्यमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरी नागरिकलाई शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति गराउनुपर्ने माग गरिएको छ। साथै, घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

नेताहरूले घटनामा कुनै बाह्य तत्व वा संगठित समूहको संलग्नता रहेको वा नरहेको विषयमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै दमनमा संलग्न रहेको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई अनुसन्धान सम्पन्न नभएसम्म निलम्बन गर्नुपर्ने बताएका छन्।

मधेसका विभिन्न क्षेत्रमा पटक–पटक यस्ता तनावपूर्ण घटना दोहोरिनुले योजनाबद्ध रूपमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आशंका व्यक्त गर्दै उनीहरूले त्यसको गहिरो अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन्।

मधेसी नेताहरूले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सरोकारवाला पक्षलाई सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै कुनै पनि अफवाह, उत्तेजना वा भ्रामक सूचनाको पछि नलागी संयमता अपनाउन सबैमा अपिल गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor