सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८३, शुक्रबार ०५:५४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै सबै नेपालीलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी गरिएको सद्भाव सन्देशमा पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले यही विविधताभित्रको एकता नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन्।

उनले नेपाली समाज परापूर्वकालदेखि नै आपसी प्रेम, सद्भाव र सहअस्तित्वका साथ अघि बढ्दै आएको उल्लेख गर्दै सामाजिक, धार्मिक वा सांस्कृतिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।

पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिएकोप्रति दुःख व्यक्त गरेका छन्।

सन्देशमा उनले नेपाललाई सबै समुदायबीच सामञ्जस्य कायम रहेको देशका रूपमा चिनिने उल्लेख गर्दै यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन्।

‘समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भू–भागमा रहे–बसेका जो कोही पनि हामी नेपाली मिलौं। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ।

सन्देशको अन्त्यमा पूर्वराजा शाहले देशका सबै नेपालीलाई एकताबद्ध भई मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गर्दै वर्तमान परिस्थितिमा यही सबैभन्दा ठूलो आवश्यकता रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor