काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने बताएका छन्।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जो कोही दोषी भए पनि कानुनको दायरामा ल्याइने स्पष्ट पार्दै सरकार शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न दृढ रहेको बताएका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी पनि दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। उक्त समितिले पारदर्शी ढंगले अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै उनले थप अप्रिय घटना हुन नदिन र अवस्था सामान्य बनाउन सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको बताएका छन्।
स्थानीय स्तरको प्रत्यक्ष अनुगमन, पीडित पक्षसँग संवाद तथा शान्ति–सुरक्षा थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थल पुगेको जानकारी पनि प्रधानमन्त्रीले दिएका छन्। साथै, देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णय गरिएको र केन्द्रमा सर्वदलीय बैठक आह्वान गरी स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न सबैमा विशेष अपिल गरेका छन्।
‘सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौं। नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व हो,’ प्रधानमन्त्री शाहले सम्बोधनमा भने।
उनले शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सदियौँदेखि कायम सामाजिक सद्भाव र सहिष्णुतामा खलल पुर्याउने कुनै पनि गतिविधिप्रति सरकार सचेत रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्न जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको संरक्षण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले कुनै एक स्थानमा भएको दुःखद घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै अन्य क्षेत्रमा प्रतिशोधको वातावरण सिर्जना गर्नु न्यायोचित नहुने पनि स्पष्ट पारे।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई धैर्य, संयमता र जिम्मेवारीका साथ शान्ति, सामाजिक सद्भाव, भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन्।
प्रतिक्रिया