काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारमा कोशी र मधेश प्रदेशका सांसदहरूसँग आकस्मिक बैठक गर्दै सभापति लामिछानेले सुनसरीमा हालै भएको घटनापछि विकसित राजनीतिक तथा सामाजिक परिस्थितिबारे समीक्षा गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद रहवर अन्सारीले सभापति लामिछानेले केन्द्रमा मात्र सीमित नरही तत्काल आफ्ना क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न र सामाजिक सद्भाव कायम गर्न सक्रिय हुन सांसदहरूलाई निर्देशन दिएको जानकारी दिए।
अन्सारीका अनुसार बाह्य तत्वहरूले सामाजिक सद्भाव भड्काउने प्रयास गरिरहेको उल्लेख गर्दै सभापति लामिछानेले त्यस्ता गतिविधिलाई निष्प्रभावी बनाउन राज्यका संयन्त्रसँग समन्वय गर्दै प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन्।
सुनसरी घटनामा गोली चल्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै लामिछानेले सामाजिक सद्भावमा खलल पुग्नु कुनै एक क्षेत्रको मात्र नभई सिंगो देशकै साझा समस्या भएको उल्लेख गरेका थिए। उनले सामाजिक एकता, आपसी विश्वास र सद्भाव जोगाउन सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको सांसद अन्सारीले बताए।
प्रतिक्रिया