सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु, साम्प्रदायिक तनावपछि प्रशासनको कडा कदम
rastriyakhabar
१३ श्रावण २०८३, बुधबार ०६:११
विराटनगर। सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा सुरु भएको विवाद र त्यसबाट उत्पन्न साम्प्रदायिक तनाव अझै साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
पूर्वी तराईका विभिन्न क्षेत्रमा बढ्दो अशान्ति र झडपका घटनालाई नियन्त्रणमा लिन तथा थप जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनले मंगलबार अपराह्न ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम महेन्द्र राजमार्ग तथा इनरुवा बजार क्षेत्रलाई समेट्ने गरी कर्फ्युको सीमा निर्धारण गरिएको छ। कर्फ्यु अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायत सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनका अनुसार पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गको उत्तर र दक्षिण २०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश लागू रहनेछ।
यसअघि कप्तानगञ्जलगायत क्षेत्रमा भएका हिंसात्मक झडप र साम्प्रदायिक तनावपछि सुरक्षा व्यवस्था कडा पारिए पनि अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेकाले पुनः कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ। जिल्लाको शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।
प्रतिक्रिया