काठमाडौं। नेपालको मुस्ताङस्थित लक्जरी होटल शिन्तामणि मुस्ताङ विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा पहिलो स्थानमा परेको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशन रोब रिपोर्ट (Robb Report) को ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा शिन्तामणि मुस्ताङले शीर्ष स्थान हासिल गरेको हो।
हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, विशिष्ट आतिथ्यता र विलासी सुविधाको संयोजनका कारण शिन्तामणि मुस्ताङले विश्वका चर्चित लक्जरी होटलहरूलाई पछि पार्दै पहिलो स्थान प्राप्त गरेको हो।
मुस्ताङको जोमसोम क्षेत्रमा रहेको यो होटलले नेपालको पर्यटनलाई साहसिक यात्राको गन्तव्य मात्र नभई उच्चस्तरीय लक्जरी पर्यटनको केन्द्रका रूपमा समेत विश्वसामु चिनाउन योगदान पुर्याएको छ। होटलले स्थानीय संस्कृति, हिमाली जीवनशैली र आधुनिक विलासी सेवाको मिश्रण प्रस्तुत गर्दै आएको छ।
शिन्तामणि मुस्ताङको विश्वस्तरीय सम्मानले नेपालको होटल तथा पर्यटन क्षेत्रमा नयाँ पहिचान थपिएको पर्यटन व्यवसायीहरूले बताएका छन्। यस उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय लक्जरी यात्रुहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया