मुम्बई: भोजपुरी, टेलिभिजन र हिन्दी चलचित्र उद्योगकी अभिनेत्री त्रिधा चौधरीले वेब सिरिज ‘आश्रम’ मा अभिनेता बबी देओलसँग दिएको अन्तरङ्ग दृश्यका कारण आफ्नो प्रेम सम्बन्ध टुटेको खुलासा गरेकी छन्।
‘बबिता भाभी’को भूमिकाबाट चर्चामा आएकी त्रिधाले हालै एक पोडकास्ट अन्तर्वार्तामा बोल्दै सिरिजको बोल्ड दृश्यका कारण वैवाहिक जीवनतर्फ अघि बढिरहेको सम्बन्ध अन्त्य भएको बताएकी हुन्।
उनका अनुसार सुटिङका क्रममा तत्कालीन प्रेमी सेटमै पुगेर निर्देशक प्रकाश झासँग विवाद गरेका थिए। प्रेमीले आफू भविष्यमा त्रिधासँग विवाह गर्ने योजना रहेको भन्दै अन्तरङ्ग दृश्यहरू परिवर्तन गर्न आग्रह गरेका थिए। त्यसपछि केही दृश्य पुनर्लेखनसमेत गरिएको उनले बताइन्।
त्रिधाले सिरिजमा देखाइएका दृश्यहरू भूमिकाको मागअनुसार व्यावसायिक रूपमा अभिनय गरिएको स्पष्ट पार्दै पर्दापछाडि प्राविधिक टोलीको उपस्थितिमा सहज वातावरणमा सुटिङ हुने गरेको बताइन्। तर, आफ्ना प्रेमीले अभिनय र व्यक्तिगत जीवनबीचको भिन्नता बुझ्न नसकेको उनको भनाइ छ।
सुटिङका क्रममा उत्पन्न तनाव र दृष्टिकोणको असहमतिका कारण सिरिज प्रसारणपछि उनीहरूबीच औपचारिक रूपमा सम्बन्ध अन्त्य भएको त्रिधाले खुलासा गरिन्। उनले उक्त समय आफ्नो जीवनको सबैभन्दा कठिन चरण भएको उल्लेख गर्दै अब पनि आफ्नो काम र कलालाई नै प्राथमिकता दिने बताएकी छन्।
प्रतिक्रिया