काठमाडौं। कोशी प्रदेशको नेतृत्व परिवर्तनको विषयलाई लिएर नेकपा (एमाले)भित्रै विवाद चर्किएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको चर्चा चलिरहेका बेला वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने पद नछाड्ने अडान लिएका छन्।
मुख्यमन्त्री कार्कीले केन्द्रमा एमाले र नेकपाबीच सत्तासहकार्यबारे आफूलाई कुनै औपचारिक जानकारी वा छलफल नभएको भन्दै तत्काल राजीनामा नदिने निकटस्थ नेताहरूलाई बताएका छन्।
स्रोतका अनुसार कार्कीले पार्टी सचिवालयबाट कुनै औपचारिक निर्णय नभएसम्म अध्यक्षको व्यक्तिगत भनाइका आधारमा राजीनामा दिन नमिल्ने धारणा राखेका छन्। उनले वर्तमान सरकारलाई निरन्तरता दिने संकेतसमेत गरेका छन्।
एमालेभित्र अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबीच राजनीतिक दूरी बढ्दै गएको चर्चा छ। पार्टीका केही सांसदका अनुसार कार्की पछिल्लो समय अध्यक्ष ओलीभन्दा महासचिव शंकर पोखरेलनिकट समूहमा सक्रिय छन्। यही कारण ओलीले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको चर्चा भइरहेको छ।
यद्यपि, कोशी प्रदेशको नेतृत्व परिवर्तनबारे एमाले सचिवालयले हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। मुख्यमन्त्री परिवर्तनको अन्तिम निर्णय पार्टीको औपचारिक बैठक र केन्द्रको सत्तासमीकरणअनुसार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया