बुटवल। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता साझेदारीको सहमति भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।
कांग्रेस प्रमुख सचेतक जमुना ढकालका अनुसार पाँचै मन्त्रीको राजीनामा प्राप्त भइसकेको छ र सोमबार औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष बुझाइनेछ।
हाल ८३ सदस्य कायम रहेको लुम्बिनी प्रदेशसभामा यसअघि एमाले–कांग्रेसको संयुक्त सरकार थियो। कांग्रेसका २७ सांसद सरकारबाट बाहिरिएसँगै १३ सांसद रहेको नेकपा सरकारमा सहभागी हुने भएको छ। नयाँ सत्ता समीकरणमा एमालेका २९ र नेकपाका १३ सांसद गरी ४२ सांसद पुग्ने भएकाले बहुमतका लागि लोसपा वा अन्य साना दल तथा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत समेटेर एक–दुई दिनभित्र मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको प्रक्रिया अघि बढाइने बताएका छन्।
प्रतिक्रिया