काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) सँग स्वास्थ्य सेवा सम्झौता गरेको छ। सम्झौताअनुसार नगरपालिकाभित्रका बालबालिकाले एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्नेछन्।
सम्झौता कार्यक्रममा नगर प्रमुख दीपककुमार रिसालले बालबालिकाको स्वास्थ्यमा गरिएको लगानी नै नगरको भविष्यमा गरिएको लगानी भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले KIOCHसँग सहकार्य गरिएको बताए। उनले यस सहकार्यले नगरवासीलाई गुणस्तरीय तथा विशेषज्ञ बाल स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरे।
KIOCH का अध्यक्ष डा. भगवान कोइरालाले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यलाई बाल स्वास्थ्य क्षेत्रमा उदाहरणीय कदमको संज्ञा दिँदै हरेक बालबालिकाले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपर्ने वातावरण निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले KIOCH ले विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय सेवामार्फत नगरपालिकासँगको प्रतिबद्धता पूरा गर्ने विश्वास दिलाए।
नगर उपप्रमुख सन्नानी लामाले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यो सम्झौताले विपन्न तथा आवश्यकतामा रहेका परिवारका बालबालिकालाई ठूलो राहत पुग्ने बताइन्। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र बालअधिकारसँग सम्बन्धित जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।
नगरपालिकाका अनुसार सम्झौतापछि गोकर्णेश्वरका योग्य बालबालिकाले आवश्यक उपचारका लागि KIOCH मार्फत एक लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्नेछन्, जसले विशेषज्ञ बाल स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै आर्थिक भार कम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया