राप्ती गाउँपालिकाको टोलीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन, स्वास्थ्य सेवा व्यवस्थापनको प्रशंसा
rastriyakhabar
७ श्रावण २०८३, बिहीबार ०६:२९
काठमाडौं । दाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहितको टोलीले कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन भ्रमण गरेको छ।
भ्रमणका क्रममा टोलीलाई नगर प्रमुख, उपप्रमुख, कार्यकारी निर्देशक तथा अस्पताल व्यवस्थापनले अस्पतालका विभिन्न विभाग, सेवा प्रवाह प्रणाली, व्यवस्थापन अभ्यास, सेवा विस्तार योजना तथा भावी कार्यक्रमबारे जानकारी गराएका थिए।
टोलीले अस्पतालमा उपलब्ध आधुनिक प्रयोगशाला सेवा, विशेषज्ञ स्वास्थ्य सेवा, २४सै घण्टा सञ्चालन हुने आकस्मिक सेवा, सुलभ फार्मेसी, स्वास्थ्य बीमा कार्यक्रम तथा समग्र व्यवस्थापन प्रणालीको अवलोकन गरेको थियो।
अवलोकनपछि राप्ती गाउँपालिकाको टोलीले अस्पतालले नागरिकलाई गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा विश्वास कायम गर्न सफल भएको भन्दै प्रशंसा गरेको छ। टोलीले अस्पतालका उत्कृष्ट अभ्यासहरू आफ्नो पालिकामा पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले समर्पित कार्य टोलीकै कारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्भव भएको बताउँदै निरन्तर सुधार र प्रभावकारी व्यवस्थापनमार्फत अस्पतालले सेवा विस्तार गरिरहेको उल्लेख गरे। उनले अस्पतालको उपलब्धिमा व्यवस्थापन टोली, चिकित्सक तथा सम्पूर्ण कर्मचारीको महत्वपूर्ण योगदान रहेको बताए।
नगर उपप्रमुख शान्ता थापाले सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल निरन्तर सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण र गुणस्तरीय सेवाका कारण अहिले नमुना नगर अस्पतालका रूपमा स्थापित हुन सफल भएको बताइन्।
भ्रमण टोलीले अस्पतालको १०० शय्याको मास्टर प्लान, आधुनिक अपरेशन थिएटर (ओटी) निर्माण योजना, व्यवस्थापन प्रणाली तथा कर्मचारीहरूको समर्पणको समेत प्रशंसा गरेको थियो।
दुवै पक्षले यस अवलोकन भ्रमणले कागेश्वरी मनोहरा नगरपालिका र राप्ती गाउँपालिकाबीच स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी सहकार्य, अनुभव आदान–प्रदान र संस्थागत सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन्।
कागेश्वरी मनोहरा नगरपालिका नमुना स्वास्थ्य सेवासँगै स्थानीय तहमा भू–सेवा सुरु गर्ने देशकै पहिलो पालिकाका रूपमा पनि परिचित छ।
प्रतिक्रिया