काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको हो।
यसअघि मंगलबार शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनले गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएका छन्।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटसम्बन्धी मुद्दामा कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
अब अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले थप आदेश जारी गर्नेछ।
प्रतिक्रिया