साउने सोमबारको पहिलो दिव्य महाआरती श्रद्धापूर्वक सम्पन्न, बाँकी तीन सोमबार पनि विशेष धार्मिक कार्यक्रम जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८३, बिहीबार ०६:१५

सामना देवकोटा
अस्टिन, टेक्सास । श्रावण महिनाको पहिलो साउने सोमबार टेक्सासको हट्टोस्थित श्री पशुपतिनाथ मन्दिरमा महा रुद्राभिषेक, रुद्राभिषेक, दिव्य महाआरती तथा महाप्रसाद वितरण कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ। ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को व्यवस्थापनमा आयोजित कार्यक्रममा अस्टिन, डलास, ह्युस्टनलगायत अमेरिकाका विभिन्न राज्यबाट आएका नेपाली तथा हिन्दू धर्मावलम्बी श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दिनभर सञ्चालन भएको महा रुद्राभिषेक, रुद्राभिषेक तथा वैदिक पूजा–आराधनापछि तीन जना वैदिक पण्डितको संयुक्त सहभागितामा दिव्य महाआरती सम्पन्न गरिएको थियो। महाआरतीपछि भक्तजनलाई महाप्रसाद वितरण गरिएको थियो। महाप्रसादका लागि आवश्यक अचार, तरकारी तथा अन्य परिकारको सहयोग Lali Son Fast Food: Indian & Nepali Cuisine ले गरेको थियो भने खीरको व्यवस्था ग्यान्सका सदस्य प्रदीप कुमार भडेलले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्यान्सका अध्यक्ष पदम ठकुराठीले प्रवासमा रहे पनि नेपाली धर्म, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताए। उनले श्री पशुपतिनाथ मन्दिर निर्माणपछि अमेरिकाका विभिन्न राज्यबाट श्रद्धालुहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको उल्लेख गर्दै मन्दिर परिसर विस्तारका लागि करिब २.५ एकर थप जग्गा खरिद गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए। साथै बौद्ध स्तूप, कम्युनिटी सेन्टर, शौचालय तथा पर्याप्त पार्किङसहित धार्मिक तथा सांस्कृतिक केन्द्र निर्माण गर्ने दीर्घकालीन योजना रहेको बताउँदै सम्पूर्ण नेपाली समुदायलाई मन्दिर विकास अभियानमा साथ दिन आह्वान गरे।

श्री पशुपतिनाथ मन्दिरका प्रमुख पुजारी नारायण खरेलले श्रावण महिना भगवान् शिवको आराधनाका लागि अत्यन्त पवित्र समय भएको उल्लेख गर्दै श्रद्धापूर्वक पूजा, जलाभिषेक तथा रुद्राभिषेक गर्दा भगवान् शिवको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको बताए। उनले श्रावण महिनाभर प्रत्येक सोमबार विशेष पूजा, रुद्राभिषेक तथा दिव्य महाआरती सञ्चालन हुने जानकारी दिँदै सम्पूर्ण भक्तजनलाई सहभागी हुन आग्रह गरे।

ग्यान्सका पूर्व अध्यक्ष भोजराज भट्टले श्रावण महिनाभर प्रत्येक सोमबार विशेष रुद्राभिषेक, गंगा आरती तथा महाआरती सञ्चालन हुँदै आएको उल्लेख गर्दै अस्टिन मात्र नभई डलास, ह्युस्टन, टेक्सासका विभिन्न सहर तथा अन्य राज्यमा रहेका नेपाली समुदायलाई परिवारसहित सहभागी हुन निमन्त्रणा दिए।

बोर्ड अफ ट्रष्टी प्रमुख देवराज न्यौपानेले मन्दिरलाई भविष्यमा धार्मिक तथा सामुदायिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै मन्दिर परिसर विस्तार, थप पार्किङ, बुद्ध स्तूप तथा अन्य पूर्वाधार निर्माणका लागि सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सहभागिता आवश्यक रहेको बताए। उनले मन्दिर विस्तार अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक तथा भक्तजनप्रति आभार व्यक्त गरे।

त्यसैगरी बोर्ड अफ ट्रष्टी सञ्चालक समितिकी सदस्य टिका माया गुरुङले पहिलो साउने सोमबार महिलाहरू, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकासहित भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै श्रावण महिनाका बाँकी सोमबारहरूमा पनि परिवारसहित उपस्थित भई पूजा–आराधना, भजन–कीर्तन तथा दिव्य महाआरतीमा सहभागी हुन आग्रह गरिन्।

मन्दिरका महासचिव सूर्य कार्कीका अनुसार श्रावण महिनाका बाँकी तीन सोमबार जुलाई २७, अगस्ट ३ र अगस्ट १० मा बिहानदेखि रातिसम्म महा रुद्राभिषेक, रुद्राभिषेक, अर्चना, दिव्य महाआरती तथा महाप्रसाद वितरण कार्यक्रम सञ्चालन हुनेछ। उनले अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा हिन्दू धर्मावलम्बीलाई परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई भगवान् पशुपतिनाथको दर्शन, पूजा–आराधना तथा महाप्रसाद ग्रहण गर्न हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor