बुढानीलकण्ठमा भूमि समस्या समाधान सहजीकरण समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०८३, बुधबार ०६:०६

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान प्रक्रियालाई प्रभावकारी बनाउन भूमि समस्या समाधानसम्बन्धी सहजीकरण समिति गठन गरेको छ। भूमि समस्या समाधान आयोग तथा जिल्ला भूमि समस्या समाधान समिति काठमाडौंको समन्वयमा समिति गठन गरिएको हो।

नगरप्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा गठित समितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई समेटिएको छ। समितिका सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका चिरञ्जीवी पाण्डे, नेपाली कांग्रेसका विजेन्द्र पुडासैनी तथा नेकपा (एमाले) का प्रदीप डंगोल रहेका छन्।

समितिले नगरपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आवश्यक समन्वय, सहजीकरण तथा अभिलेख अध्ययन गर्नेछ। साथै, सम्बन्धित व्यक्तिहरूको विवरण प्रमाणीकरण गरी कानुनी प्रक्रियाअनुसार आवश्यक सिफारिस गर्ने र जिल्ला भूमि समस्या समाधान समितिसँग समन्वय गरेर समाधान प्रक्रिया अघि बढाउने जिम्मेवारी समितिलाई दिइएको छ।

नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय तह, जिल्ला समिति र भूमि समस्या समाधान आयोगबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ। समितिको गठनसँगै नगरभित्र रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।

यसैबीच, जिल्ला भूमि समस्या समाधान समिति काठमाडौंले बुढानीलकण्ठ नगरपालिकालाई आवश्यक प्राविधिक सहयोग र सहजीकरण उपलब्ध गराउने जनाएको छ। स्थानीय तहबाट तथ्याङ्क संकलन, प्रमाणीकरण तथा सिफारिस प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन भए समस्या समाधानको कार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

नगरपालिकाले सम्बन्धित सबै निकायसँग सहकार्य गर्दै वास्तविक लाभग्राहीसम्म सेवा पुर्‍याउने र भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor