काठमाडौं । उपचारका लागि सिंगापुर र त्यसपछि हङकङ पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति Sher Bahadur Deuba ले आफू छिट्टै नेपाल फर्कने बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा मंगलबार जारी दुई पृष्ठ लामो वक्तव्यमा उनले नेपाली भूमिमा फर्किएपछि लोकतान्त्रिक आन्दोलन र संविधानवादलाई सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यद्यपि, नेपाल फर्किने मिति भने खुलाइएको छैन।
देउवा गत फागुन १७ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि उनकी पत्नी Arzu Rana Deuba भारतबाट सिंगापुर पुगेकी थिइन्। त्यसपछि देउवा दम्पती हङकङ पुगेको भिडियोसमेत सार्वजनिक भएको थियो।
देशबाहिर रहेका बेला देउवाले जारी गरेको वक्तव्यमा नेपाली कांग्रेसभित्रको पछिल्लो आन्तरिक विवादबारे कुनै टिप्पणी गरेका छैनन्। बरु उनले लोकतन्त्र, संविधान र संवैधानिक संस्थामाथि बढ्दो दबाबप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
वक्तव्यमा स्वतन्त्र न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई कार्यकारी नियन्त्रणमा राखी विपक्षलाई आतंकित गर्ने औजारका रूपमा प्रयोग गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ।
देउवाले अहिलेको प्रमुख आवश्यकता लोकतन्त्रको रक्षा, राष्ट्रिय एकता र सहकार्य भएको उल्लेख गर्दै नेपाली कांग्रेस अब केवल प्रतिपक्षको भूमिकामा सीमित नरही लोकतन्त्र, संविधान र नागरिक सुरक्षाको संरक्षण गर्ने ऐतिहासिक जिम्मेवारीमा रहेको बताएका छन्।
विदेशमा रहे पनि आफ्नो मन र चिन्ता देश र जनताप्रति केन्द्रित रहेको उल्लेख गर्दै उनले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्यको आवश्यकता रहेको बताएका छन्। साथै, लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने गतिविधिविरुद्ध दृढतापूर्वक उभिन राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।
प्रतिक्रिया