काठमाडौं । अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति तथा स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएका छन्।
स्थानीय तह समन्वय शाखाले जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारी नियमित रूपमा कार्यालयमा उपस्थित रहनुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार विपद्को अवधिभर कर्मचारीहरूले कार्यालय नछोडी समन्वय, सहजीकरण तथा निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा गर्न भनिएको छ।
मन्त्रालयले विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण संकलन तथा आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश र संघीय निकायसँग निरन्तर सम्पर्क तथा समन्वय गर्न स्थानीय तहलाई आग्रह गरेको छ।
त्यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरी मात्र कार्यालय छाड्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले विपद्को जोखिम बढिरहेका बेला नागरिकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन तथा राहत र उद्धार कार्यलाई व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरेको जनाएको छ।
प्रतिक्रिया