पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले पासपोर्ट ठेक्का प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर निष्क्रिय पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्न नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको बताए। विगतका सरकारहरूले आफ्ना निकट व्यक्तिलाई नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको र अहिलेको सरकारले दबाब सिर्जना गरेर त्यसलाई पंगु बनाउने काम गरिरहेको उनको दाबी थियो।
‘दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार प्रभावकारी हुन सक्दैन,’ थापाले भने, ‘हामीले त स्वतन्त्र संवैधानिक निकाय खोजेका हौँ।’
उनले सुशासनका लागि भ्रष्टाचारका पुराना फाइल खोल्नेभन्दा पनि भ्रष्टाचार हुनै नदिने बलियो संस्थागत प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए। संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य बनाउन संविधान संशोधनसहित गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो।
महामन्त्री थापाले लोकतन्त्र, समावेशिता र नागरिकका मौलिक अधिकारमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै आवासको हक र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने पनि बताए।
प्रतिक्रिया