काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी पहिलो चरणमा २० जना बालबालिकाको उद्धार गरेको छ।
मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा स्थलगत अनुगमन गर्दा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको, शौचालय तथा स्नानगृह अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको पाइएको थियो। मन्त्रालयले उक्त अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ।
मन्त्रालयले यसअघि पनि नेपाल बाल संगठनलाई भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबास व्यवस्थित बनाउन पटक–पटक निर्देशन दिँदै आएको जनाएको छ। यसका लागि सम्बन्धित पक्षसँग मन्त्रालयमा छलफलसमेत गरिएको थियो। तर, अपेक्षित सुधार नभएपछि स्थलगत अनुगमन गरी तत्काल उद्धार प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्ति तथा बालगृहका केही कर्मचारीबाट त्यहाँको अवस्थासम्बन्धी भिडियोहरू प्राप्त भएका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए।
उक्त उजुरी र भिडियो सामग्रीका आधारमा बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बाँकी बालबालिकाको अवस्थाको पनि मूल्याङ्कन गरी आवश्यक निर्णय तथा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
प्रतिक्रिया