काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी तथा भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
प्राधिकरणअन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आज बसेको बैठकले ती जिल्लामा मौसम र सडकको अवस्थाअनुसार आवश्यक परे जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्न तथा अन्य जिल्लामा समेत उच्च सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
प्राधिकरणले पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई उच्च जोखिममा रहेको जिल्ला सूचीमा राख्दै सम्बन्धित जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
भारी वर्षासँगै अचानक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
त्यसैगरी, जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सडक विभाग तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
बैठकले विकास साझेदार संस्था, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र र सर्वसाधारणलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यमा आवश्यक सहयोग र समन्वय गर्न आग्रह गर्दै आपत्कालीन गोदामघरलाई समेत तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्णय गरेको छ।
प्रतिक्रिया